काठमाडौं, ८ फागुन । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज विहिवार दोस्रो खेल हुँदैछ ।
समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्ने छ । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो । मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको हो ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।














