काठमाडौं, १ फागुन । पाकिस्तानमा आगामी सातादेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ ।
आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने सन् २००९ मा अस्ट्रेलियाले जितेको थियो ।
दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो । समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । सन् १९९८ देखि नकआउट ट्रफीको नामले सुरू भएर २००२ देखि च्याम्पियन्स ट्रफी नाम दिइएको प्रतियोगिताको उपाधि सर्वाधिक जित्ने टोली भारत र अस्ट्रेलिया हुन् ।
भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि बाँडेको थियो भने सन् २०१३ मा टी२० फम्र्याटमा भएको प्रतियोगिता जितेको थियो । त्यस्तै अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार उपाधि जितेको थियो । त्यसयता भएका दुई संस्करणमा भने अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेन ।
आईसीसी प्रतियोगितामा सर्वाधिक सफल टोली अस्ट्रेलियाले आईसीसीका हरेक प्रतियोगिता कम्तिमा एकपटक जित्ने एकमात्र टोली हो । आगामी साता सुरू हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेटका लागि सबै राष्ट्रहरूले अन्तिम टोली घोषणा गरिसकेका छन् । केही स्टार खेलाडीहरूले प्रतियोगिता गुमाउने पनि छन् । लामो समयको अन्तरालपछि हुन लागेको यस प्रतियोगिता खेल्ने कुन टोली कस्ता छन् त ?
पाकिस्तान
पाकिस्तान आयोजक एवम् डिफेन्डिङ च्याम्पियन हो । सन् २०१७ को फाइनलमा भारतमाथि शानदार जित निकाल्दै पाकिस्तानले उपाधि उचालेको थियो ।
पाकिस्तानको टोली ः मोहम्मद रिज्वान (कप्तान), बाबर आजम, फखार जमान, कमरान गुलाम, सौद शकील, तैयाब ताहिर, फहीम असरफ, खुशदील शाह, सलमान अली आघा, उस्मान खान, अबरर अहमद, हारिस राउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन अफ्रिदी
भारत
सन् २०११ मा पछिल्लोपटक ५० ओभरको आईसीसी प्रतियोगिता जितेको भारतले सन् २०१३ मा टी–२० फम्र्याटमा भएको च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । भारतको टोली ः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रिषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वासिङटन सुन्दर, कुल्दीप यादव, हर्षित राना, मोहम्मद शामी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती
अस्ट्रेलिया
आईसीसी हरेक प्रतियोगिताहरूमा अस्ट्रेलियन टोली मुख्य दाबेदारका रूपमा रहने गर्छ । ६ पटक एकदिवसीय विश्वकप, दुईपटक च्याम्पियन्स ट्रफी र एक–एक पटक टेस्ट च्याम्पियनसिप तथा टी–२० विश्वकप जितेको इतिहास अस्ट्रेलियासँग छ ।
अस्ट्रेलियाको टोली ः स्टिभ स्मिथ (कप्तान), शन एबट, एलेक्स केरी, बेन डारसुइस, नेथन एलिस, जेक फ्रेजर–म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोनशन, मार्नस लबुशान, ग्लेन म्याक्सवेल, तन्भिर सांघा, म्याथ्यू शर्ट, एडम जाम्पा
दक्षिण अफ्रिका
दक्षिण अफ्रिका आईसीसीका प्रतियोगिताहरूमा अभागी टोलीको रूपमा ठहरिने गरेको छ । सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पुगेर पराजित भएको दक्षिण अफ्रिकी टोली सन् २०२४ को टी–२० विश्वकप फाइनलमा पनि जितको नजिक पुगेर पराजित भएको थियो ।
दक्षिण अफ्रिकाको टोली ः टेम्बा बाभुमा (कप्तान), टोनी डे जोर्जी, मार्को यान्सेन, हेनरिच क्लासेन, केशव महाराज, एइडेन माक्र्रम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एन्गीडी, कगिसो रबाडा, रायन रिकेलटन, तब्रेज शाम्सी, ट्रिस्टन स्टब्स, राशी भ्यान डेर डुसेन, कर्बिन बोस्च
न्युजिल्याण्ड
दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टोली हो न्युजिल्याण्ड । सान्त्वनाका लागि भन्नुपर्दा न्युजिल्याण्डले आईसीसीको टेस्ट च्याम्पियनसिप भने जितेको छ । च्याम्पियन्स ट्रफी भने सन् २००० मा जितेको थियो । विश्वकप र अन्य प्रतियोगिता भने जित्न बाँकी छ ।
न्युजिल्याण्डको टोली ः मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, टम लेथम, डारिल मिचेल, विलियम ओरके, ग्लेन फिलिप्स, रचिन रविन्द्र, बेन सियर्स, नेथन स्मिथ, केन विलियमसन, विल योङ ।
इंग्ल्याण्ड
क्रिकेटको सुरूवात भएको देश भएपनि लामो समयको पर्खाइपछि सन् २०१९ मा एकदिवसीय विश्वकप जितेको इंग्ल्याण्डले हालसम्म च्याम्पियन्स ट्रफीको उपाधि भने जितेको छैन । आईसीसीका प्रतियोगिताहरूमा इंग्ल्याण्डले त्यति सुदृढ प्रदर्शन गर्न सकेको हुँदैन ।
इंग्ल्याण्डको टोली ः जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम बेन्टन, ह्यारी ब्रूक, ब्राइडन कार्से, बेन डकेट, जेमी ओभर्टन, जेमी स्मिथ, लियाम लिभिङस्टन, आदिल राशिद, जो रूट, सकिब महमूद, फिलिप साल्ट, मार्क वूड
बंगलादेश
बंगलादेशको टोलीले हालसम्म आईसीसीको कुनैपनि मुख्य प्रतियोगिता जित्न बाँकी छ । बंगलादेश क्रिकेट टिम पछिल्लो समय त्यति लयमा देखिएको छैन ।
बंगलादेशको टोली ः नजमुल हसन शान्तो (कप्तान), सौम्या सरकार, तन्जिद हसन, तोहिद रिदोए, मुस्फिकर रहिम, महमुदुल्लाह, जाकिर अली, मेहदी हसन मिराज, रिशाद होसेन, तास्किन अहमद, मुस्तफिजुर रहमान, परवेज होसाई, नसुम अहमद, तन्जिम हसन साकिब, नाहिद राना
अफगानिस्तान
अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा पहिलोपटक खेल्न लागेको हो । पछिल्लो समय निकै उच्च स्तरको प्रदर्शन गरिरहेको अफगानिस्तान जुनसुकै आईसीसी प्रतियोगितामा पनि बलियो टोलीलाई चुनौती दिन सक्ने टोलीका रूपमा हेरिने गरेको छ ।
अफगानिस्तानको टोलीः हस्मतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जाद्रान, रहमनुल्लाह गुरबाज, सेडिकुला अटल, रहमत शाह, इक्रम अली खिल, गुल्बादिन नाइब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, राशिद खान, नगेलिया खरोटे, नूर अहमद, फजलहक फारुकी, फरीद मलिक, नाभिद जाद्रान।














