जनकपुरधाम, २७ माघ । धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।
प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको जनाइएको छ । रोहित राहत शिक्षक हुन् उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए भने सो विषयमा विवाद चर्केपछि उनीहरुबीच कुटाकुट भएको हो ।
शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले सुनाएको छ । नगर प्रमुख विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी पाएको बताए ।
वडाध्यक्ष ठक्कु यादवका अनुसार बुवाको निधन भएकाले शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए । तर प्रधानाध्यापक अहिले तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि दुवै जनाबीच विवाद भएको छ ।
आफू विद्यालय पुगेर दुवै जनालाई सम्झाइबुझाई अहिले भर्खर आएको बताए । शिक्षक यादवले २५ हजार पेश्की लिन नचाहेको र समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमै लागेको वडाध्यक्ष यादवले बताए ।