काठमाडौं, १८ माघ । अमेरिकाको वाशिङटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थल नजिकै यात्रुवाहक विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर आकाशमै ठोक्किँदा विमानमा सवार ६४ र हेलिकप्टरमा सवार तीन सैनिक गरी ६७ जनाकै मृत्यु भएको अधिकारीले जनाएको छ ।
अमेरिकामा सन् २००१ पछिकै यो ठूलो दुर्घटना भएको बताइएको छ ।
राष्ट्रिय सुरक्षा यातायात बोर्डका अध्यक्ष जेनिफर होमेन्डीले पत्रकार सम्मेलन गर्दै विमान र हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जानकारी दिनुभएको रोयटर्सले जनाएको हो । विमानमा रूस र अमेरिकाका स्केट खेलाडी, प्रशिक्षक र परिवार पनि सवार थिए ।
हिजो विचिटा, कान्सासबाट उडान भरेको अमेरिकन एअरलाइन्सको विमान रेगन राष्ट्रिय विमानस्थलको रनवे ३३ मा अवतरण गर्ने क्रममा आकाशमै हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको छ भने अनुसन्धानमा अमेरिकी सुरक्षा निकाय एफबीआईले समेत सघाउने बताएको छ भने। विमान दुर्घटनामा कुनै पनि व्यक्ति जीवित नरहेको विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत स्पष्ट पार्नुभएको सीएनएनले जनाएको छ ।