काठमाडौं, १५ माघ । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार ३० अर्ब बराबर खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिकान्स भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ६ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।