एजेन्शी, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् ।
इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए । ‘
इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु’, ट्रम्पले एयरफोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने, ‘तपाईं सायद १५ लाख मानिसको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ र हामी त्यो सबै खाली गर्न चाहन्छौं । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्ष थिए ।
मलाई थाहा छैन, तर त्यहाँ केही हुनुपर्छ ट्रम्पले भने ।’ सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार ट्रम्पको उक्त भनाइ आएको हो ।