एजेन्सी । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ ।
सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन । बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो ।
यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले । जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।