काठमाडौं, ७ माघ । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ ।
विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो । खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले यो खेलको सबैतिर चर्चा भइरहेको छ ।












