काठमाडौै, २९ पौैस । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार, ३ वाणिज्य बैंकले मात्रै निक्षेपको ब्याजदर परिवर्तन गरेका छन् । २० वाणिज्यमध्ये १७ बैंकले पुस महिनाको निक्षेपको ब्याजदर नै निरन्तरता दिएको छ । व्यक्तिगत खातातर्फ नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले ब्याजदर घटाएको छ भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । संस्थागततर्फ भने एसबीआई र नेपाल बैंकले घटाउँदा सिटिजन बैंकले बढाएको छ ।
वाणिज्य बैंकहरूले कात्तिक महिनासम्म लगातर निक्षेपको ब्याजदर घटाएकोमा मंसिरबाट स्थिर रहेको छ । पुसको तुलनामा माघमा अधिकांश बैंकले दरमा परिवर्तन गर्न सकेनन् । नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा मुद्दती निक्षेपमा ६ प्रतिशत दिँदै आएकोमा ०.५ प्रतिशतले घटाएको छ ।
कृषि विकास बैंकले निक्षेपको अधिकतम ब्याजदर ५.५७ प्रतिशत रहेकोमा ५.५१ प्रतिशतमा झारेको बताएको छ । लक्ष्मी सनराइज बैंकले भने मुद्दतीमा ५.५ प्रतिशत ब्याज दिने गरेकोमा अब ०.२५ प्रतिशत बढाएको छ । बैंकहरूले अहिले मुद्दतीमा ५.५ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने गरेको हो ।