विराटनगर, ११ पुस । मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कारको आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, मोरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेको छ ।
कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो भने स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो ।
महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको खुलेको छ ।