जनकपुर, ११ पुस । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनको हत्या भएको छ ।
हत्या गरी शौचालय पछाडि गाडेको अवस्थामा उनको शव बरामद भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरि गाडिएको शव निकालिएको प्रहरी निरीक्षक साहले बताए । हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको साहले बताए । प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको थियो ।
बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन । श्रीमान रक्सीले लठ्ठिएका थिए । प्रहरी निरिक्षक साहले भने साँझतीर बुहारीले सासु कहाँ छन् भनेर सोधपुछ गर्दा घर पछाडी मारेर फालदिएको बताएछन ।
त्यसपछि परिवारले प्रहरीलाई बोलाएछन, खाल्डो खन्दा शव भेटियो । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।