काठमाडौं, ९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् ।
उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए । उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ ।
मिलनले हत्या गरेको स्वीकार समेत गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् ।
एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।
मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउने छ ।