काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको छ ।
गत १६ मंसिरमा सुरु भएको खेल शनिबार उपाधि भिडन्तसँगै सकिएको छ । एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको छ ।
एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारेका छन भने उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने ।
उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् ।
उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए ।
उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।