काठमाडौँ, ४ पौस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेका थिए । उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको मन्त्री लेखकले जानकारी दिए ।
त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।
उक्त तस्बिर आफूले खिचेको रास्वपाकै समर्थक डा निकोलस भुसालले स्वीकार गरिसकेका छन् ।