काठमाडौँ, ४ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको हो ।
कार्यकारी निर्देशकबाट घिसिङ हटाउने अनेकौ ‘तिकडम’ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न लागेको हो । देश सञ्चारलाई स्रोतले दिएको जानकारीअनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्ने छ ।
गत असार अन्तिममा सत्तारोहण गरेको ओली घिसिङलाई हटाउने एक सुत्रीय एजेण्डा बोकेर हिँडेको हो । तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि ओली विफल भएको थियो । घिसिङलाई निरुत्साहित गर्न सरकारले पटक पटक प्रष्टीकरण सोध्दै आएको हो ।
यसअघि २०७८ साउन २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगको विज्ञ बनाएर प्राधिकरणबाट बिदा गरेको थियो । रिक्त पदमा घिसिङ दोस्रो कार्यकालका लागि निर्देशकमा नियुक्त भएको हो । संभवत प्रधानमन्त्री ओलीले यहीँ तरिका अपनाएर घिसिङलाई विहिवार आजको नियमित मन्त्रिपरिषद्बाट धपाउने तयारी गरेको हो ।