काठमाडौं, ३ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरिएको छ ।
अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबीले जनाएको छ । यो अनुसन्धान निरन्तर जारी नै छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेका छौं,’ सीआईबी स्रोतले भन्यो । मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।
घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो ।
यो बीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।