काठमाडौं, २ पौस । नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको छ । पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ ।
यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् ।
बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ ।
पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ ।














