काठमाडौं, १ पोष । नेपाल प्रिमियर लिग (एनपीएल) मा हारका बाबजुद कर्णाली याक्सले शीर्ष चारमा स्थान बनाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको हो ।
सुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । समान खेलबाट १० अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् । ७ खेलबाट समान ८ अंक भएको चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै एलिमिनेटरका लागि छनोट भएको हो ।
चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । एनपीएलमा भोलि मंगलबार विश्राम छ । बुधबारको एलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्नेछन् । सो खेल बिहान ९ बजे सुरु हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफासर्यस खेल्ने छ । पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिने छ । सोही दिनको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुने छ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स खेल्ने छन् । सो खेल दिउँसो १ बजे सुरु हुने छ । यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्ने छ । पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्ने छन् । दोस्रो क्वालिफायर खेल बिहीबार हुने छ ।
यसको विजेता फाइनल पुग्ने छ । फाइनल खेल शनिबार हुने छ ।