काठमाडौं, ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालालाई आज सम्बोधन गर्दै सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताएका छन् ।
चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको जनाएका छन ।
ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताए । उनले त्यस्ता प्रवृत्ति प्रतिक्रियावादी शक्तिको पछि लाग्ने गरेको पनि बताए ।