काठमाडौं, ३० मंसिर । मंसिर शुक्ल पूर्णिमाका दिन आज (आइतबार) पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् ।
बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ ।
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने र गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रूपमा लिने गरिन्छ ।