काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको हो ।
एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो । पोखराको जितमा रेमोन रेइफर नायक बने । रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो । सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाएको हो । लिगमा पाँचौ खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ ।
पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ । त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । पोखराका लागि ओपनर आन्द्रेस गौसले २७ बलमा ७ चौका मदतमा ३६ रन बनाए । कप्तान कुशल भुर्तेलले ३१ रन बनाए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । बसिर अहमदले २० बल खेल्दै १ छक्का मद्दतमा अविजित २१ रन बनाए ।