सुर्खेत, २७ मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको छ । अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जिप्रका जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
दुर्घटनामा दुई जना घाइते भएका छन्। नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डिएसपी पाण्डेले जानकारी दिए ।