धनगढी, २६ मंसिर । मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएके थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका हुन् । उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि चर्चामा आएका थिए ।
‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए । हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए ।