विराटनगर, २४ मंसिर । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ ।
झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको खुलेको छ ।
उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो ।
बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो । पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।