काठमाडौं, २४ मंसिर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अध्यक्ष सिलवालले नपाएको अहोदा पाएँ भन्दै झुट्टा विवरण दिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।
अख्तियारका अनुसार नागरिकतामा उनले पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लागेको थियो । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको भन्दै उजुरी परेको थियो ।
अध्यक्ष सिलवाल २०४३ साल साउन १ गते रा.प तृतीय श्रेणी पदमा नियुक्ति लिएका थिए। त्यस्तै उनले २०७३ साउन १५ गते निजामति सेवाबाट बिदा भएका थिए।