हेटौँडा, २१ मङ्सिर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शुक्रवार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य खड्कालाई शपथ गराएका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
गौरीशंकर गाउँपालिका–५ दोलखा निवासी खड्का प्रमुख प्रतिपक्ष दल माओवादी कोटामा आयोगको सदस्य नियुक्त भएका हुन् । खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । उनी दोलखाको सिंगटीस्थित प्रताप स्मृति क्याम्पसका प्रमुख हुन् ।














