काठमाडौं, २१ मंसिर.। भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् ।
वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।
स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।
विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।