जनकपुर, २० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर रहेको छ ।
आज दिउँसो जानकी मन्दिरबाट बाजागाजासहित पुगेर ऐतिहासिक गंगासागरमा मटकोर गरिने कार्यक्रम रहेको छ । मिथिलाको परम्परागत प्रचलनअनुसार गंगासागरमा मटकोर गरिन्छ ।
मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिन्छ । साथै, उपस्थिति सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन् ।
यसै अवसरमा गंगासागरमा दैनिक साँझ आयोजना हुने गंगा महा आरती आज दिउँसो नै सम्पन्न गरिनेछ । मटकोर सम्पन्न भएपछि भोली शुक्रबार राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाह समारोह आयोजना गरिनेछ ।
मंसिर १६ गते विधिवत रूपमा सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् । भोली छैठौँ दिन विवाहपञ्चमीको प्रमुख कार्यक्रम सम्पन्न गरिनेछ ।