काठमाडौँ, १८ मंसिर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजदेखि चितवनमा सुरु भएको छ ।
मंगलवार बिहान जहाजबाट चितवन लगिएका लामिछानेको बयान सुरु गर्नै प्रहरीलाई २ घण्टा समय लागेको थियो । लामिछानेको निर्वाचन क्षेत्र नै चितवन भएकाले हुनसक्ने सम्भावित आन्दोलनबाट जोगाएर सरकारी वकिलको कार्यालयमा पु¥याउनै समय लागेको छ ।
विमानस्थलबाट कार्यकर्ता र सर्मथकलाई छल्न प्रहरीले केहीबेर जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेर दुई घण्टापछि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।
अपराह्न ४ बजेसम्म रविलाई १५ वटा प्रश्न सोधिएको थियो । मंगलवार नसकिएकाले बुधवार पनि बयान जारी रहने भएको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेलाई रुपन्देही र काठमाडौँमासमेत फरकफरक सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो ।
लामिछानेविरुद्ध गत मंसिर ५ गते चितवनमा सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा पूरक जाहेरी दर्ता भएको थियो । सोही प्रहरणमा यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।