जनकपुर, १३ मंसिर । जनकपुरको सौन्दर्य र स्वच्छता केवल मेला र महोत्सवको समयमा मात्र देखिन्छ ।
जब कुनै पर्व, विशेष गरी विवाह पञ्चमीको जस्तो महत्वपूर्ण अवसर नजिक आउँछ, तब मात्र यहाँको वातावरण सिंगार्ने काम थालिन्छ । अन्य समयमा भने, जनकपुरको अवस्था यथावत रहन्छ, जसले यहाँको विकास र सरसफाईमा साँचो समर्पणको अभावलाई प्रकट गर्छ ।
वर्तमानमा जनकपुरमा रामसिताको विवाहको तयारीहरू तिव्र गतिमा भइरहेको छ । यस अवसरमा बाह्र बिग्हा (रंगभूमि मैदान) को सरसफाई र मिथिला पेन्टिंगका कामहरू सुरु भएका छन् ।
विवाह पञ्चमी र अन्य चार्ड पर्वको समयमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिका सक्रिय हुँदै यहाँको साजसज्जा र स्वच्छतामा ध्यान दिन्छन् ।
यद्यपि, यो गतिविधि केवल पर्वको समयमा मात्र सीमित रहन्छ र अरु बेला जनकपुरको अवस्थामाथि कुनै सुधारको ध्यान दिइँदैन । जनकपुरको सरसफाई र विकासका लागि वर्षभरि कुनै ठोस योजना र कार्यान्वयनको कमी रहेको छ ।
प्रदेश सरकार र उपनगरपालिकाका तर्फबाट पर्वको समय बाहेक जनकपुरको स्वच्छता र सौन्दर्यको अवस्था लगभग उस्तै रहन्छ । यसको परिणामस्वरूप, जनकपुर जनकपुरधाम त बन्ने हो, तर वास्तविक जनकपुरधामको रूपसँग यसले मेल खाँदैन ।