काठमाडौं, १३ मंसिर । काठमाडौं स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ ।
यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न पाउने छैनन् ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गर्छ। आइतबार उपनिर्वाचन तोकिएका ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मतदान हुन लागेको छ ।
मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।