काठमाडौं, १२ मंसिर । तीन सय बढी किलोग्राम गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक मकवानपुर र दुई जना बाराका हुन् । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलोग्राम गाँजासहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट करिब १ सय ७० किलोग्राम गाँजासहित ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेर अनुस्नधान भइरहेको प्रहरीले जनाएको छ ।