जनकपुर, १० मंसिर । धनुषाको विदेह नगरपालिकाको सभा हलमा सोमवार जिल्ला प्रशासन कार्यालय, धनुषाले आयोजना गरेको सेवा प्रवाह सम्बन्धी सहजिकरण, समन्वय, र सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रममा सरकारी सेवामा देखिएका समस्याहरूको समाधान र सेवाग्राहीहरूको अनुभवलाई सुधार्ने उद्देश्य राखिएको थियो । नगर प्रमुख बेचन दासले कार्यक्रममा प्रमुख ध्यान केन्द्रित गर्दै भने, “सरकारी सेवा प्रवाहका क्रममा देखिएका चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि सहकार्य र समन्वयको वातावरण सिर्जना गर्नु हाम्रो मुख्य उद्देश्य हो ।
“ उनले थपे, “सेवाग्राहीहरूको गुनासो र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सार्वजनिक सेवामा पारदर्शिता, सरलता र सहजता ल्याउन हामी प्रतिबद्ध छौं । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृतले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गम्भीर रहेका र सेवाग्राहीका समस्याहरूलाई शीघ्र सम्बोधन गर्ने कुरामा जोड दिनु भएको छ ।
यसैगरी, नगर उप प्रमुख आशा देवी झा, प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर साह लगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।