काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा नियमित एजेण्डामा छलफल हुनेछ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ ।
धितोपत्र बोर्ड करिब एक वर्षदेखि नेतृत्वविहीन छ । बोर्ड अध्यक्ष चयनका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका चार जनासँग अन्तर्वार्ता लिइसकेको छ ।
दुई जनाको यसअघि नै अन्तर्वार्ता लिइसकिएकोमा दुई जनाको आइतबार अन्तर्वार्ता भएको हो। आइतबार डा नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापाईंलाई अन्तर्वार्तामा बोलाइए पनि चापागाईं अनुपस्थित रहे। त्यसअघि सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको अन्तर्वार्ता लिइसकेको थियो ।
चार जनाको अन्तर्वार्तापछि समितिले आइतबार बोर्डको अध्यक्ष नियुक्तिका सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।
धितोपत्र बोर्डको ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ को उपदफा ४ मा ‘उपदफा (९३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले सफारिस गरेका तीन जनामध्ये मन्त्रिपरिषद्बाट अध्यक्ष नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।














