काठमाडौँ, ९ मंसिर । चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।
डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१÷८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।
अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ ।
गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो । भन्सार विभागका अनुसार यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको छ ।
अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । पेट्रोल आयातबाट सरकारले यस वर्ष चार महिनामा १४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यस वर्ष पेट्रोल आयातको परिमाण बढे पनि बिदेसिने मुद्रा भने घटेको छ ।