काठमाडौं, ९ मंसिर । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृत भेटिएका श्रीमान्–श्रीमतीको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ ।
अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको छ ।
सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तल घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले भाडामा लिएर होटल चलाएका थिए ।
सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश र उनकी २९ वर्षीया श्रीमती शर्मिला होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ भने मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।