काठमाडौं, ५ मंसिर । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कूल सार्वजनिक ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ प्रतिशत नाघेको छ ।
चालु आर्थिक वर्षमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कूल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड पुगेको छ’, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।
कार्यालयका अनुसार कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ ।
जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो । सरकारले चालु आवका लागि पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो ।
कात्तिक मसान्तसम्ममा एक खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।














