काठमाडौं, ३० कातिक । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन् ।
एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन् । ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको छ ।
आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए ।
उनले भने, ‘हामीले अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं । अरु ठाउँबाट पनि नाम आउँदैछ । समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं ।
कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ । नेकपा एसले कीर्तिपूरको ४ को वडाध्यक्ष मात्रै टुंगाएको छ । मेयरमा भने माओवादीलाई सघाएर जाने भन्ने छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए ।
समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। प्रचण्डसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलाइएको छ ।