काठमाडौं, ३० कात्तिक । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको छ ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो ।
त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो । त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।
नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।