जनकपुर, २७ कातिक । तुलसी र दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म (चार महिना) तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएका भगवान विष्णुका भक्तले आज दामोदरसँग तुलसीको विवाह गरिदिएर यो पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसीको दामोदरसँग विवाह गराइदिने प्रचलन छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने धार्मिक विश्वास छ ।
आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको जनविश्वास विश्वास रहिआएको छ । तुलसीको मठ वरपर विष्णुको प्रतीकका रूपमा निगाला, बाँस, उखु लगायतको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।