कठमाडौं, २६ कातिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लग्ने भएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
बुटवलमा पनि उनीविरुद्ध पक्राउ पूर्जि जारी भइसकेको छ । यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो ।
छविलाल जोशी असोज ६ गते र रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन् । उनीहरुलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ ।
यही बिचमा बुटवलमा पनि अनुसन्धान अगाडी बढाउने तयारी प्रहरीले गरेको छ ।