जनकपुर, २४ कातिक । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरेर रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ र पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि सुरु भइसकेको छ ।
विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।
विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ । सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ ।
मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ । त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको महन्थ दासले जानकारी दिए ।
विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिएका छन् । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताए ।
उनले तिलकको अगुवाइ गर्न आफूलाई आग्रह गरिएको भए पनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताए । आगामी दुई÷तीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाए । अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ ।
जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।
मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ । अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ ।
अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुनेछ ।
दोस्रो दिन जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ । तेस्रो दिन बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ ।
चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । त्यस दिन दिवा विश्रामको स्थान टु्ङ्गो लागेको छैन । पाँचौँ दिन शाँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ ।
छैठाँै दिन सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ । सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।
आठौँ दिन मङ्सिर १८ गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ । नवौँ दिन जन्ती सीताराम विवाह महोत्सवको अवसरमा मङ्सिर १९ गते अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।
मङ्सिर २० गते १०औँ दिन जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गङ्गासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै ११औँ दिन मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह«बिघा (रङ्गभूमि) मा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ ।
यसैगरी १२औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् ९५१ तीर्थस्थलको जलबाट अभिषेक गरिने र रामकलेवा बिदाइ भोजमा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ ।
तेह«ौँ दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ ।