काठमाडौँ, २३ कातिक । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।
निमित्त आईजीपी टेक प्रसाद राईका अनुसार केन्द्रीय निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको तयारी थालिएको छ । उनका अनुसार कार्य विभागका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले निर्वाचन सेलको संयोजन गर्नेछन् ।
निमित्त आईजीपी राईले भने, ‘प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको सुरक्षा तयारी थालेका छौँ ।’ मंसिर १६ मा ३१ जिल्लामा निर्वाचन हुँदैछ ।
सशस्त्र प्रहरी बलले पनि प्रधान कार्यालयमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका एसएसपी दिग्विजयन सुवेदीले केन्द्रीय निर्वाचन सेलको संयोजन गरेका छन् ।
प्रदेशमा एसपी, गण भएका जिल्लामा डीएसपी र गुल्म भएका जिल्लामा इन्स्पेक्टरको कमाण्डमा निर्वाचन सेल गठन गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।