जनकपुर, १७ कातिक । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने विश्वास छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाई दान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ ।