जनकपुर, १५ कार्तिक । आज कुकुर पूजा र लक्ष्मी पूजा मनाईदै छ ।
यसवर्ष तिथिको हेरफेरका कारण कुकुर तिहार तेस्रो दिनमा परेको छ । जसले गर्दा आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई विशेष सम्मान गर्दै मनपर्ने परिकार दिनुपर्ने धार्मिक मान्यता छ । यमराजको द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुला गरिदिने विश्वासले कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक कथाले कुकुरलाई मानवकै हितैषी मानिन्छ ।
आजका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन अरुणोदयकालमा नदी वा तलाउमा स्नान, तर्पण गरि यमदीप बगाउँदा नरकको दर्शन नगर्नु पर्ने धार्मिक विश्वास छ ।
बिहानै घर सफा सुग्घर गरेर गाईको गोबर र रातोमाटोले लिपपोत गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि भनिन्छ।
लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म गाईको गोबर, रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मीको आगमनको मार्ग तयार गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने परम्परा छ । सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरका महिलाले ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन–धान्यको आगमन होस्’ भनी नाङ्लो ठटाउने चलन पनि छ ।
आज साँझ युवतीहरूले समूहमा भैलो खेल्ने प्रचलन छ, जसलाई भगवान विष्णुले बलिराजालाई दिएको वरदानको सम्झनामा गाइन्छ यस अवसरमा आज बजारमा दीपावली गरी झिलमिलि सजाइन्छ ।