काठमाडौं, १४ कातिक । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई सर्वसम्मत बेल्जियमका लागि राजदूत अनुमोदन गरेको छ । अनुमोदित हुनुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले उनलाई ‘देशको हितमा काम गर्न सक्नुहुन्छरु’ भनेर सोधेका थिए ।
जवाफमा लम्सालले आफूसँग भूराजनीतिमा काम गरेको अनुभव रहेको भन्दै देशको लागि मिल्ने कुरा गरेर देखाउने बताइन् । साथै उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
यस क्रममा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् ।
भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई सिफारिस गरेको थियो । उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो ।
उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन् ।














