जनकपुर, १४ कार्तिक । आज कात्तिक कृष्ण त्रयोदशीको अवसरमा काग तिहार मनाइँदै छ ।
त्रयोदशी तिथि सूर्योदयकालमा परेकाले आज शास्त्रीय विधिअनुसार काग तिहार मनाउन उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
यमराजका दूतका रूपमा कागलाई पूजा गरेर मनाइने यस पर्वमा आज बिहान कागलाई मनपर्ने खानेकुरा दिएर सम्मान गरिन्छ । धार्मिक मान्यता अनुसार, यमराजले लोकका समाचार कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूत मानिन्छ ।
कागले यमराजलाई सुखद समाचार पु¥याओस् भनेर आजको दिन कागलाई मिठा परिकार दिइन्छ । लोक परम्पराअनुसार, कागले घरमा आएर कराउँदा ‘शुभ बोल’ भनिन्छ, किनभने त्यसलाई समाचार ल्याउने संकेत मानिन्छ ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आज कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुगोस् भन्ने विश्वास रहिआएको छ ।
लक्ष्मीलाई स्थिर राख्नका लागि गरगहना तथा तामाका भाँडाकुँडा किन्नुपर्ने मान्यतासहित धनतेरस पर्व पनि मंगलबार मनाइएको छ ।