जनकपुर, ८ कार्तिक । मधेशमा प्रदेशका तीन मन्त्रालयका सचिवको बिदाइ गरिएको छ ।
केहीदिन अघि संघीय सरकारले गरेको सह सचिवहरुको नियमित सरुवामा मधेश सरकारका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए ।
उनीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बिदाइ गरेका छ । मुख्यमन्त्री सतिशकुमार सिँहको अग्रसरतामा भएको विदाई समारोहमा सहसचिवहरू मधेश प्रदेशमा परिवारकै सदस्यले पाउनेजस्तो आत्मीयता, सहयोग र सद्भाव पाएको बताएका छन् ।
प्रदेश सचिवको सरुवापछि मधेश प्रदेश सरकारले सात वर्षमा पहिलोपटक बिदाइ समारोहको आयोजना गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिवबाट योजना आयोगमा सरुवा भएका वीरेन्द्रकुमार यादव मधेश प्रदेशमा सरुवा भएका कर्मचारीलाई बिदाइ गर्ने कार्य पहिलोपटक भएको भन्दै यस्तो परम्परा र सँस्कारलाई निरन्तरता पाउने अपेक्षा गरे ।
अर्थ मन्त्रालयको सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सुवासचन्द्र शिवाकोटीले प्रदेशमा काम गरिरहँदा राजनीतिक नेतृत्वको मार्गनिर्देशनमा मन्त्रालयका कामकाज व्यवस्थित र प्रभावकारी बनाउने रूपरेखा कोर्न पाएकोमा सन्तोष व्यक्त गरे ।
उनले जस्तोसुकै जटिलता र सकसलाई चिर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरूबाट प्राप्त सद्भाव उत्साहप्रद तथा प्रेरणादायी रहेको भन्दै मधेश प्रदेशको बसाइँ स्मरणीय रहने उल्लेख गरे ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिवबाट कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका शरणकुमार पाण्डेले मधेश प्रदेशमा काम गर्दाका असल अभ्यासहरूका सिकाइ अर्को प्रदेशमा काम लाग्ने बताए ।
उनले भने, ‘मधेश प्रदेशको समन्वय र सहकार्यको सँस्कृति यहाँ आउने कर्मचारीका लागि काम गर्ने वातावरण प्रदान गर्नेछ ।
मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आएका उधव रिजाललाई स्वागत गरिएको थियो ।