काठमाडौं, ८ कार्तिक। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको स्रोतले बताएको छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद थपिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको छ ।
गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको छ ।