काठमाडौं, ७ कात्तिक । दशैंपछि काठमाडौं उपत्यकामा चिसो बढे पनि डेंगु संक्रमण रोकिएको छैन । चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेंगु संक्रमण धेरै नघटेको चिकित्सकहरु बताएका छन ।
दशैंपछिका केही दिनमा डेंगुका बिरामी ह्वातै बढेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले बताएका छन ।
तीन दिन अगाडिसम्म हामी कहाँ दैनिक २०–२२ जना भर्ना भएका थिए । तर आजभोलि बिस्तारै बिरामी कम हुँदै गएका छन चालिसेले भने । उनका अनुसार आगामी एक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहन्छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस साता सातै प्रदेशका स्वास्थ्यमन्त्री र स्थानीय निकायका प्रतिनिधिसँग डेंगु नियन्त्रणबारे छलफल गरेका छन् ।
बैठकमा लामखुट्टे नियन्त्रणका लागि सम्बन्धित निकायलाई पुनः सक्रिय गराउने निर्णय भएको छ । यसवर्ष हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर २२ हजार भन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।